|
'तिमीले नसम्झिदाँ माया, बेग्लै हुँदो रै'छ...'
मोबाइलको सिंगटोन बज्यो । मल्लिका कार्कीको स्वरको यो गीत पहिलो चोटी बर्दिबासको सुनगाभा एफएममा सुनेको थिएँ। शुरूमै सुन्दा मन पर्यो । ल जा... म पनि के कम... त्यहाँको टेक्निसियन साथीलाई पेनड्राइभमा कपी गर्न भने अनि बोकेर काठमाडौं ल्याएँ। एडब अडिसनमा अगाडिको म्युजिक काटिदिएँ अनि बनाइदिएँ सिंगटोन। ब्लुटूथबाट मोबाइलमा सारे अनि सेट गरें सिंगटोनको रूपमा । मोबाइल नर्मल प्रोफाइलमा भएको बेला जसको फोन वा मिस कल जे आएपनि यही बज्ने।
यसो मोबाइलमै समय हेरें । रातको १ बजेको रहेछ । कलेज जान अलार्म बजेको हो कि भन्ने ठानेको होइन रै'छ। मिस्ड कल भनेर एउटा अज्ञात नम्वर देखें । ९८०३६..... यस्तै नम्वर थियो । मेरो एनटिसीमा पहिलेको मेरो मोबाइल अहिलेको एनसेलको अज्ञात नम्वर... कसको हो भन्ने याद भएन, निद्राले थिचेको थियो, पल्टिदिएँ । सिरानीमै रहेको मोबाइलमा एउटा म्यासेज आयो । भन्ठाने, एनटिसीले मोबाइल वन वे भएको जानकारी दिन पठाएको म्यासेज होला । यो पोस्टपेड मोबाइल पनि झन्झटै हो, कतिबेला वन वे हुन्छ थाहा हुँदैन । यस्ता म्यासेज मलाई मोबाइलमै सेभ गरेर राख्न मन लाग्दैन। डिलिट गर्छु भनेर हेरेको त, त्यही मिस्ड कल वाला नम्वरबाट आएको म्यासेज रै'छ। 'आइ एम वेटिङ यू इन फेसबुक'। यति मात्र लेखेको थियो, कहाँबाट कसले कुन नियतले पठाएको थियो, लेखिएको थिएन । मस्त निद्राले च्यापेको बेला अनलाईन? मैले नि रिप्लाइ गरे, 'आइ एम स्लिपिङ । हु आर यू? आइ कुडनट रिकग्नाइज यू । प्लिज गिभ मि टू स्लिप । गुड नाइट ।' मनमा जति रीस उठेपनि म सितिमिति गाली नै गरेर कसैलाई केही भन्न सक्दिन । सेन्ड हुनुअघि नै डेलिभरी रिपोर्ट आयो, यो एनटिसी पनि गजवको छ । एक मिनेट पनि नहुँदै अर्को म्यासेज आयो । रोमन नेपालीमा लेखेको थियो, 'सुतेको मान्छेले कसरी रिप्लाइ गर्छ? म तिमीलाई फेसबुकमा वेट गरिरहेको छु। कम फास्ट न प्लिज!' म माथि ठुलै चुनौती थियो । फेरी उठे, पानी पिएँ, अलि अलि भोक लाग्न थालेको रै'छ। साथीहरूले पेट लाग्यो भन्या भएर साँझमा भात खान छोडेको त बिहान उठ्दा पेटभर मुसा दौडिने । सुत्ने खाटको साइडको सानो टेवलमा रारा चाउचाउ रै'छ, खोले अनि खान थाले । म्यासेज रिप्लाइ गरिन। एनसेलमा रिप्लाइ गर्दा झण्डै ३ रूपैंया काट्छ । बडो पैसा बचाउनेजस्तो गरें ।
|